एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : युवक हत्याको विरोधमा जनकपुरधाम उपमहानगरपालिका २३ स्थित बिन्धीका स्थानीय र प्रहरी बीच झडप भएको छ। स्थानीयले जनकपुरधाम–भिठामोड सडकखण्ड जाम गरी प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज गरेपछि झडप शुरु भएको हो। यस झडपमा १ दर्जन स्थानीय र केही प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले १ दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
धनुषा जिल्ला प्रहरी कार्यालयले झडपमा कति जना घाइते भए भन्ने पुष्टि गरेको छैन। १५ दिन अगाडि, होलीकै दिन जनकपुरधाम २३ बिन्धीमा १७ वर्षीय आशु यादवको हत्या भएको थियो। हत्यामा संलग्न भनिएको एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार छन्। प्रहरीमा किटानी जाहिरी परेको र अन्य संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेको भन्दै स्थानीय आज बिहानै सडक अबरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्।