एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ।
होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीका १९ वर्षीया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड पूर्ण रूपमा ठप्प पारेका छन्। आइतबार बिहान ७ बजेदेखि मुख्य सडक अवरुद्ध गर्दै उनीहरूले आवागमन रोक्का गरेका छन्।
यसअघि, गत बुधबार पनि उनीहरूले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए। सो दिन जिल्ला प्रहरी कार्यालय धनुषाले हत्यामा संलग्न अन्य अभियुक्तलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको थियो। तर, चार दिन बितिसक्दा पनि कुनै गिरफ्तारी नभएको भन्दै मृतक आँशुकी आमा र गाउँवासीले अनिश्चितकालीन सडक अवरुद्ध र धर्ना सुरू गरेका छन्।चैत २ गते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए। छाती, ढाड, र पेटमा गम्भीर घाइते भएकाआँशुको प्रादेशिक अस्पताल जनकपुरमा साँझ ६ बजे उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो। तर, मृतकका परिवारजनले अन्य व्यक्तिहरू पनि घटनामा संलग्न रहेको दाबी गर्दै उनीहरूलाई समेत हिरासतमा लिन माग गरिरहेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्या प्रकरणको अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले घटनामा संलग्न कुनै पनि व्यक्तिलाई उम्किन नदिने आश्वासन दिए पनि पीडित परिवार न्यायको मागसहित आन्दोलनमा छन्।