एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : नेपाल पत्रकार महासंघ धनुषाले शुक्रवार जिउदै जलाइएका एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहिको मांग गर्दै जनकपुरधाममा विरोध रयाली प्रदर्शन गरेको छ । महासंघ धनुषाका अध्यक्ष पुरन साहको नेतृत्वमा पत्रकारहरुको समुहले नेपाल पत्रकार महासंघ धनुषाको भवनबाट जनकपुरधामको विभिन्न चौकहरुमा विरोध प्रर्दशन गरेका हुन ।
प्रेस युनियनका राजन सिंह, प्रेस चौतारीका नविन प्रियदर्शी, प्रेस मञ्चका अर्जुन मण्डल, समाजवादी प्रेस संगठनका विकास साह, मधेशी पत्रकार समाजका शुभाष कर्ण र दलित पत्रकार मञ्चका कुलदिप दास सहित विभिन्न ब्यानरका धनुषा अध्यक्षहरु सहित निक्लेको विरोध रयाली रामचौक, जनकचौक, शिवचौकबाट भानुचौक हुदै पुनः जनकचौक पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा बोल्दै अध्यक्ष साहले देशमा कुनै पनि परिवर्तणमा पत्रकारिता र मिडियाको अहम भुमिका र अगुवाई रहेको स्मरण गराउदै पत्रकार मारेर, जनता तर्साएर कुनै पनि परिवर्तण सम्भव नरहेको तर्क गरे । उनले भने, ‘हरेक परिवर्तणमा पत्रकार र मिडियाको बराबर हिस्सेदारी छ, यो क्षेत्रको बिना कुनै परिवर्तण सम्भव छैन ।’
जनकचौकको विरोध सभापछि महासंघको भवन पुगेर पत्रकारहरु स्व. पत्रकार रजक प्रति श्रद्धाञ्जली अर्पण गर्न दिप प्रज्वलन गरेका थिए । सो अवसरमा वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी र महासंघ धनुषाका पुर्व अध्यक्ष अशोक रौनियार, बिएम खनाल सहित कुल ७० जना पत्रकार विरोध कार्यक्रममा सहभागि र एक्यवद्वता जनाएको महासंघ सचिव बटुकनाथ झाले बताए ।


