एसपी रिपोर्टर
काठमाणडौँ, चैत १३ : धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनको माग राख्दै ४४ दिनदेखि धर्नामा छन्।
माघ २८ गतेदेखि नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन, र सफाइ व्यवस्थापनको माग गरेका छन्।उनका अनुसार, नगरपालिकामा ७० भन्दा बढी शिक्षकको अभावले शैक्षिक गुणस्तर प्रभावित भएको छ भने, कम्प्युटर अपरेटर नहुँदा स्थानीयवासीलाई सेवा लिन कठिनाइ भइरहेको छ। सामाजिक सुरक्षाभत्ता प्रत्येक वडामै वितरण गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र गाउँमै बनाएर वितरण गर्नुपर्ने, र वडा कार्यालयमा कम्प्युटर अपरेटरको व्यवस्था गर्नुपर्ने उनीसँग मुख्य माग छन्।सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले यादवका माग चाँडै सम्बोधन नभए, आफू पनि वडा कार्यालय बन्द गरी धर्नामा बस्ने चेतावनी दिएका छन्। तर, नगर प्रमुख कारीराम यादवले केही मागहरू कार्यान्वयनमा रहेको बताउँदै, सामाजिक सुरक्षाभत्ता र राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था व्यवहारिक नभएको बताएका छन्।