एसपी रिपोर्टर
काठमाणडौँ, चैत १३ : अधिवक्ता चन्द्रप्रकाश भुसालले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गर्दै आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको आरोपमा बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। ललितपुरको भैंसेपाटीमा २७ रोपनी क्षेत्रफलमा ८५ करोड रुपैयाँ खर्च गरी अत्यधिक विलासितायुक्त आवास निर्माण गरिएको छ। यस आवासमा ७ वटा भवन र १४ ब्लक छन्, जहाँ प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास, कार्यकक्ष, सहयोगी र सचिवालयका लागि छुट्टै कोठा व्यवस्था गरिएको छ। साथै, आधुनिक फर्निचर, डिजेल जेनेरेटरबाट विद्युत आपूर्ति, पानी ट्याङ्की, बगैँचा र पार्किङ लगायतका सुविधाहरू छन्। प्रदेश प्रमुख र मुख्यमन्त्रीको लागि प्रत्येकमा ८ देखि १२ जना कर्मचारी र सुरक्षाकर्मी छन्। रिट निवेदन अनुसार, प्रदेश प्रमुखका लागि आवास बाहेकका सुविधाका खर्च प्रति महिना २-३ लाख र मुख्यमन्त्रीका लागि ३-४ लाखसम्म हुने उल्लेख गरिएको छ।