एसपी रिपोर्टर
रौतहट, चैत १३ : मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशन उल्लंघन गर्दै अस्पताल सञ्चालन गर्ने रौतहटका एक निजी अस्पतालका सञ्चालक पक्राउ परेका छन्।
रौतहटको गरुडा नगरपालिका-५, शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसादलाई इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु कान्त झाको नेतृत्वमा आज बिहान ११ बजे पक्राउ गरिएको हो। मुख्यमन्त्री सिंहले केही दिनअघि आनन्द हस्पिटलको अनुगमन गरेका थिए र मापदण्ड पूरा नगरेको पाइएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।तर, मुख्यमन्त्रीको आदेशलाई उल्लंघन गर्दै अस्पताल पुनः मापदण्ड बिना सञ्चालन गरिएको भेटिएपछि प्रहरीले सञ्चालक उमेश प्रसादलाई नियन्त्रणमा लिएको हो।मुख्यमन्त्री सिंहको निर्देशनको अटेरी गर्दै नियमनकारी निकायहरू मौन बसिरहेका बेला सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको थियो। यसपछि मुख्यमन्त्रीको कडा निर्देशनमा रौतहट प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा सञ्चालक उमेश प्रसादलाई पक्राउ गरिएको बुझिएको छ।
मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगर्ने कुनै पनि अस्पताल सञ्चालन गर्न नदिइने स्पष्ट बताउँदै आएका छन्। यस घटनापछि अन्य अनियमित अस्पतालहरूमा पनि प्रदेश सरकारको कारबाही सुरु हुने संकेत देखिएको छ।