एसपी रिपोर्टर
काठमाणडौं, चैत १३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले यस निर्णयका बारेमा बैठकमा जानकारी दिँदै आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको उपचार रोकिनु नपर्ने व्यवस्था गर्ने कुरा बताएका थिए। कार्यकारी निर्देशक रवि मल्लका अनुसार, आर्थिक अभाव भएका बालबालिकाहरूको उपचार रोक्न नदिने निर्णय पछि, उपचारका लागि आन्तरिक र अन्य स्रोतबाट व्यवस्था गरिनेछ।हाल स्वास्थ्य मन्त्रालयले गंगालाल केन्द्रलाई ५०० बालबालिकाका लागि शल्यक्रिया सहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ। बालबालिकाको उपचार लिने संख्या बढेसँगै केन्द्रले थप आन्तरिक श्रोतहरूको उपयोग गरेर आर्थिक अभाव भएका बालबालिकाहरूको शल्यक्रिया सहितका उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो। यस वर्षको पुस महिनासम्म गंगालाल केन्द्रले ४८० बालबालिकालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको छ।मन्त्री पौडेलले भने, “आर्थिक अभावका कारण कुनै पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोस् भन्ने हाम्रो लक्ष्य हो, र यसका लागि थप स्रोतहरूको खोजी गरिनेछ।”
सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोत जुटाउन स्थानीय तहहरूसँग सम्झौता गर्ने निर्णय पनि गरेको छ। यसका लागि सदस्य सापकोटालाई जिम्मेवारी दिइएको छ। नेपालमा एक अध्ययनका अनुसार, प्रत्येक १,००० बालबालिकामा ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ।