एसपी रिपोर्टर
काठमाणडौं, चैत १३ : सिरहाकी किशोरी रिंकु कुमारी सदायको मृत्यु प्रकरणमा संलग्न वडासदस्य नथुनी साहलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। उनी घटनाको मिलापत्र गराउन पञ्चायती बसेका व्यक्तिमध्ये एक भएको भन्दै मुद्दा चलाइएको हो।
अन्य प्रतिवादीहरू रामकृपाल मण्डल, विन्देश्वर साह, करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। त्यस्तै, रामविनोद मण्डल र कमलेश कुमार दासलाई साधारण तारेखमा रिहा गरिएको छ।बलात्कारको आरोप लागेपछि गाउँमा पञ्चायती सभा बसेर घटना मिलाउन खोजिएकाले आरोपीहरूमाथि जातीय छुवाछूत, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी तथा मिलापत्र गराएको कसुरमा मुद्दा चलाइएको छ।१७ वर्षीया रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। परिवारका अनुसार, घटनाको चार दिनअघि २६ माघको राति शौच गर्न गएकी उनलाई स्थानीय तीन जनाले सामूहिक बलात्कार गरेको थियो। उनले परिवारलाई घटना सुनाएकी थिइन्, तर गाउँमा पञ्चायती सभा बसेर मिलापत्र गराउने प्रयास भएको थियो।
हालसम्म बलात्कार तथा अपहरणका आरोपी दुई जना र पञ्चायती सभामा संलग्न आठ जना गरी १० जना अझै फरार रहेको प्रहरीले जनाएको छ।