एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : होलीको दिन छुरा प्रहार गरी हत्या गरिएका किशोरका दोषीलाई पक्राउ गर्न माग गर्दै मृतकका परिवार तथा स्थानीयहरूले जनकपुर-जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका-२३, बिन्दीमा स्थानीयहरूले प्रदर्शन गर्दै तीन घण्टादेखि चक्काजाम जारी राखेका छन्।चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई घरबाट बोलाएर छुरा प्रहार गरेका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो।घटनालगत्तै धर्मेन्द्र महतो पक्राउ परेका थिए। तर, उनलाई छुरा उपलब्ध गराउने रामवरण महतोका छोरा राकेश महतो तथा आशुलाई घरबाट बोलाउन सहयोग गर्ने अन्य व्यक्ति भने अझै फरार रहेको पीडित पक्षको भनाइ छ। घटनाको दुई साता बितिसक्दासमेत फरार अभियुक्तहरूलाई पक्राउ नगरिएको भन्दै मृतककी आमा अर्चना यादवको नेतृत्वमा स्थानीयहरूले विरोध प्रदर्शन गरिरहेका छन्।छ महिनाअघि अर्चनाका श्रीमान् पप्पु यादवको निधन भएको थियो। एकमात्र छोरा पनि गुमाएपछि उनी सहाराविहीन बनेकी छन्।धनुषा प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ। प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार साँझ ५ बजेतिर धर्मेन्द्रले छाती, ढाड र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो।
पक्राउ परेका धर्मेन्द्र महतोमाथि कानुनी प्रक्रिया अघि बढाइएको भए पनि अन्य संलग्न व्यक्तिहरूलाई चाँडो पक्राउ गर्न माग गर्दै पीडित परिवारले आन्दोलन चर्काएका छन्।