एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : बुलेट चढेर जनकपुरधामको होटलहरुमा पुगेर खाद्यपदार्थको गुणस्तर अनुगमन गर्न थालेका मुख्यमन्त्री सतिश कुमार सिंहलाई एक मधेशका युवाहरुले मधेशबाट काठमाण्डौंका लागि जाने रात्री बसहरुले सिन्डीकेट लगाएर खुवाउने खानाको पनि अनुगमन गरिदिन आग्रह गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा लाइभ आएर किशन साह नामक एक युवाले हरेक दिन मधेशका हजारौं विद्यार्थी, विरामी तथा बैदेशिक यात्रामा जाने युवाहरु रात्रीबसमा यात्रा गर्ने गरेको र बसबालाहरुको सिन्डिकेट र कमिसन सहितको गुणस्तरहिन खाना खादै आएको भन्दै उनले त्यस्ता होटल तर्फ पनि जान मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।
किशनले उठाएको मुद्दा समान्य लाग्न सक्छ तर मधेशको हकमा गम्भिर विषय हो । सम्पन्न र अति आवश्यक बाहेक मधेशका मध्यमस्तरका अधिकांश जनता तराई मधेशबाट काठमाण्डौं पुग्ने सस्तो र सहज माध्यम हो रात्रीबस सेवा । तसर्थ किशनले उठाएको विषय मधेशको हरेक घर परिवार संग जोडिएको विषय पनि हो ।
सादा खानाको २ सय देखि २ सय ५० सम्म र माछा मासु खानाको ४ सय सम्म लिने त्यस्ता होटलहरु बस व्यवसायीहरु संग मिलेर एकदमै कम समयमा खानुपर्ने, बस रोकिएकै होटलमा खानुपर्ने सहितका बाध्यात्मक परिस्थितीको सृजना गरेर कमाई गर्ने गरेको अनुभव किशनले लाइभमा पोख्दै त्यता तर्फ पनि ध्यान दिन मधेशका मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।