एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : मधेश प्रदेशसभाको बैठक विपक्ष र सत्तापक्षबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ।
मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक सहमति नजुटेपछि स्थगित भएको हो। बैठक स्थगित गर्नुको मुख्य कारण विपक्षी दल माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि उठाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटिहरूको छानबिनको माग हो।माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशसभामा उठाइएका विषयहरूको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै सत्तापक्ष र विपक्षीबीचको छलफल बिना निष्कर्षमा पुग्न नसकेको बताए। विपक्षी दलहरूले प्रदेश सरकारमाथि लगाएका अनियमिततासम्बन्धी आरोपको छानबिनका लागि समितिको गठनको माग गरेका थिए।सत्तापक्षका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बैठकमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको जानकारी दिए। उनले विपक्षीले उठाएका मुद्दामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु आवश्यक रहेको र त्यसपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री सतिशकुमार सिंहले पनि संसद्मा विपक्षीहरूले लगाएको आरोपको जवाफ दिने अवसर दिनुपर्ने र त्यसपछि मात्र छानबिन समिति गठन गर्न तयार रहेको बताए। विपक्षीले सशर्त अनुदान, कूटनीतिक मर्यादा उल्लंघनलगायतका विषयमा उठाएका प्रश्नको जवाफ बिना नै बैठक स्थगित भएको हो।