एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधानले प्रदान गरेको अधिकारहरू अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।
सोमबार जनकपुरधाममा मिडिया काउन्सिलद्वारा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठीमा मन्त्री लेखीले तीन तहको सरकार गठन भए तापनि संविधानमा उल्लेखित अधिकारहरूको पूर्ण कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गरे।उनले संविधानमा स्वेत प्रदेश, स्वेत क्षेत्र, र स्वेत इलाका निर्माणको व्यवस्था गरिएको भए पनि ती संरचनाहरू अहिलेसम्म गठन हुन नसक्दा चिन्ता व्यक्त गरे। मन्त्री लेखीका अनुसार न राजनीतिक दल, न सञ्चारकर्मी, न त अन्य सरोकारवालाहरूले यस विषयमा ध्यान दिएका छन्।उनले स्वेत संरचनाहरू निर्माण भएमा प्रदेशलाई थप अधिकार प्राप्त हुने, विकास कार्यहरू सहज रूपमा अघि बढ्ने र विशेष गरी दलित तथा उत्पीडित समुदायहरूले प्रत्यक्ष लाभ लिन सक्ने बताए।मन्त्री लेखीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दल र सञ्चारकर्मीहरू गम्भीर बन्नुपर्ने सुझाव दिए।
कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूले समाचार संकलनका क्रममा भोग्नुपरेका कठिनाइहरूबारे छलफल गरेका थिए।