एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : धनुषामा क्षयरोगको अवस्था भयावह बन्दै गएको जनाइएको छ। सोमबार विश्व क्षयरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले कोरोना महामारीपछि क्षयरोगको संक्रमण दर तीव्र रूपमा बढेको जानकारी दिए।
उनका अनुसार विगत ६ महिनामा मात्र धनुषा जिल्लामा ७३४ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। मधेश प्रदेशभरि पर्सा जिल्लापछि सबैभन्दा धेरै संक्रमित धनुषामा रहेका छन्। यादवले हालको अवस्थामा क्षयरोग महामारीसरह फैलिएको बताए।उनले तीनै तहका सरकारले कोरोना महामारीपछि क्षयरोग नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए। औषधिको अभाव, सरकारका तीन तहबीच समन्वयको कमी, र बिरामीहरू स्वयंले औषधि पूरा नलिने प्रवृत्ति जस्ता कारणले क्षयरोग नियन्त्रणमा चुनौती थपिएको उनको भनाइ छ।धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीइनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालनमा रहेको यादवले जानकारी दिए। अन्य पालिकामा पनि नियमित खकार जाँच र ‘डट्स प्रविधि’ मार्फत क्षयरोगको उपचार जारी रहेको उनले जनाए।
विश्व क्षयरोग दिवसको अवसरमा जनकपुरधामस्थित जनस्वास्थ्य कार्यालयले विद्यार्थी, स्वास्थ्यकर्मी, र विभिन्न सरकारी निकायका पदाधिकारीहरूको सहभागितामा प्रभातफेरी समेत आयोजना गरेको थियो।