एसपी रिपोर्टर
काठमाणडौं, चैत ११ : हिमाचल प्रदेशको राजधानी शिमलास्थित जुब्बरहट्टी विमानस्थलमा सोमबार बिहान ठुलो दुर्घटना टर्यो। दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपत्कालीन ब्रेक लगाएर रोकिएको छ। विमानमा प्राविधिक गडबडीका कारण आपत्कालीन अवतरण गराइएको थियो।
विमानमा उपमुख्यमन्त्री मुकेश अग्निहोत्री, डीजीपी डा. अतुल वर्मा सहित ४४ जना यात्रु सवार थिए। सबैजना सकुशल रहेको बताइएको छ। विमानको टायर हावामै पड्किएको र त्यसकै कारण विमानलाई आपत्कालीन रूपमा आधा धावनमार्गमा अवतरण गराउनु परेको थियो। भाग्यवश, विमान धावनमार्गबाट बाहिर ननिस्कँदा ठुलो दुर्घटना हुनबाट जोगियो।
यस घटनापछि सुरक्षा कारणले धर्मशालाकाे अर्को उडान रद्द गरिएको छ। विमान किन आधा धावनमार्गमा अवतरण गरियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
शिमला विमानस्थल स्रोतका अनुसार, एलायन्स एयरको उडान नम्बर ९१८२१ का पाइलटले अवतरणका क्रममा विमानको ब्रेकमा प्राविधिक गडबडी भएको जानकारी गराएका थिए। विमानमा देखिएको प्राविधिक समस्या बारे विस्तृत अनुसन्धान जारी छ।