एसपी रिपोर्टर
सिरहा, चैत ११ : लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार निर्माण गर्ने भएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले रु २ करोड २९ लाख ७४ हजार ५२० लागतमा बन्ने पक्की संरचनाको शिलान्यास गरेका छन्।
नगरप्रमुख चौधरीका अनुसार तीनवटा ब्लकमा ८४ वटा सटरसहित दुईतले पक्की संरचना निर्माण हुनेछ। किसानले आफ्ना उत्पादन सजिलै बिक्री गर्न सक्ने गरी स्टल उपलब्ध गराइने उनले जानकारी दिए। निर्माण कार्य विसं २०८३ असार २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।लहान मधेस प्रदेशकै तेस्रो ठूलो व्यापारिक केन्द्र भएकाले किसानका उत्पादनलाई व्यवस्थित रूपमा बजारमा ल्याउन आधुनिक संरचना आवश्यक रहेको नगरप्रमुख चौधरीको भनाइ छ। व्यवस्थित बजार नहुँदा राजमार्ग किनारमै तरकारी बिक्री हुने अवस्थाको अन्त्य हुने उनले बताए।हाटबजार समितिका अध्यक्ष राजकुमार साहका अनुसार, पाँच बिघा क्षेत्रफलमा सञ्चालित हटियामा हप्ताको सोमबार र शुक्रबार पचासौँ हजार मानिस आउने गर्छन्। व्यवस्थित बजार निर्माण भएपछि यहाँका तरकारी व्यवसायी उत्साहित भएको उनले बताए।
नगरपालिकाले व्यवस्थित हाटबजार निर्माणको पहल गर्दै आएको भए पनि यसपटक काम सुरु भएकाले व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन्। बजार सञ्चालनमा आएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन्।