एसपी रिपोर्टर
काठमाणडौं, चैत ११ : नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ। चैत १५ गते काठमाडौँमा गणतन्त्र पक्षमा आयोजना हुने वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान रोकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
अभियान चैत १६ गतेबाट पुनः सुरु गरिनेछ। हाल कुनै कार्यक्रम तय नभए पनि माओवादी अध्यक्ष प्रचण्ड चितवनमा रहेका छन् र आज साँझ काठमाडौँ फर्कने छन्। साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासँग सिंहदरबारमा भेटवार्ता तय भएकाले प्रचण्ड काठमाडौँ जान लागेका हुन्।झापाको कचनकवलबाट फागुन १२ गते सुरू भएको अभियान फागुन २४ गते रौतहटमा स्थगित भएको थियो। गत बिहीबारबाट बाराबाट पुनः सुरु गरिएको अभियान हालसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा सम्पन्न भइसकेको छ।
अब अभियान नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली हुँदै कञ्चनपुरमा टुंग्याइनेछ। त्यसपछि मध्य पहाडी क्षेत्रमा अभियान सञ्चालन गरी सगरमाथाको फेदीसम्म पुर्याउने माओवादी केन्द्रको योजना छ।