एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : धनुषाका शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको छ। महोत्तरी प्रहरीका डीएसपी सन्तुलाल जयसवारका अनुसार, उनलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ भने आज म्याद थप प्रक्रिया अघि बढाइँदै छ।
२५ वर्षीय शिवशंकर महतोको शव महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वन क्षेत्रमा रेल्वे ट्र्याकबाट १०० मिटर दक्षिण फेला परेको थियो। शवको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिन्छ।
शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर जाँदै थिए, तर उनी ससुराली नपुगेको खुलेको छ। प्रहरीले हत्या पछाडि कुनै व्यक्तिगत रिसइवी हुनसक्ने आशंकामा अनुसन्धान जारी राखेको जनाएको छ।