एसपी रिपोर्टर
काठमाणडौँ।, चैत ११ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले कुनै पनि निरंकुशता स्वीकार नगर्ने बताएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र हजारौंको त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गरे।
राष्ट्रपतिले भ्रष्टाचार र कुशासनविरुद्ध नागरिक अधिकारलाई सशक्त बनाउनुपर्ने बताउँदै, संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँमा पुगेको स्मरण गराए। युवाको विदेश पलायन रोक्न शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादन वृद्धि जस्ता क्षेत्रमा लगानी आवश्यक रहेको उनले बताए।
सोलु र दूधकोशी नदी क्षेत्रमा जलविद्युत् आयोजना तथा सगरमाथा क्षेत्रको पर्यटनले देशको आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले पूर्वाधार निर्माण र सडक विस्तारले गाउँगाउँको जीवनस्तर सुधार गरेको बताए।