एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारिताको विकासका लागि ठोस नीति अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । संघिय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घ धनुषाको समन्वयमा अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरू सम्बन्धमा जनकपुरधाममा भएको अभिमुखीकरण र छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले संघ सरकारले नै ठोस नीति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन ।
आर्थिक मन्दीको प्रभावबाट अन्य क्षेत्र जस्तै पत्रकारिता क्षेत्र प्रभावित भएकाले पत्रकारहरूको वृत्ति विकासका लागि ठोस नीति बनाउन जरुरी रहेको उनको तर्क थियो । समाचार स्पष्ट तथ्यपरक र भ्रमरहित हुन आवश्यक रहेको उनले बताए । अस्पष्ट टवीस्ट गरिएका समाचारले भ्रम सृजना हुने र यस्ले गर्दा राम्रा स्थापित पत्रकारहरुलाई पनि असर गर्ने गरेको उनको भनाई छ ।
मुख्यमन्त्री सिंहले पत्रकारिता क्षेत्रमा अनलाइन तथा युट्युबबाट दोहोरो अर्थ लाग्ने समाचार सम्प्रेषण गरेर पाठक तथा श्रोतामा भ्रम सृजना गरिएको बताए । उनले मुलुकको आर्थिक सबलीकरण तथा सुशासनका लागि पत्रकारिता क्षेत्रले सकारात्मक दृष्टिकोणका साथ कलम चलाउन जरुरी रहेको बताए ।
मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले पाठक वर्ग विश्वसनीय पत्रकारिताको पक्षमा रहेको बताउँदै विश्वसनीय समाचार नदिने सञ्चार माध्यम आफै जनताबाट टाढिँदै जाने बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्णले छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश सरकारले यूट्युवरहरुलाई पनि वार्षिक रुपमा आर्थिक सहयोग प्रदान गर्दै आएको उदाहरण दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव कोषहरि निरौलाले मन्त्रालयले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न प्रकारका नीतिगत तथा कानूनी सुधारको काम गर्ने क्रममा सार्वजनिक सेवा प्रसारण ऐन बनाएर रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई एक्कै ठाउँमा ल्याउनका लागि नियमावली बनाउने काम गरिरहेको बताए ।