एसपी रिपोर्टर
काठमाडौँ , चैत ९ : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरू प्रभावित भई नेपालमा खानेपानी, कृषि, र जलविद्युत क्षेत्रमा गम्भीर असर परिरहेको बताएका छन्।
विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) द्वारा आयोजित “दिगो खानेपानी, सरसफाइ तथा स्वच्छतामा लगानी” विषयक गोष्ठीमा मन्त्री यादवले हिमनदी संरक्षणको आवश्यकता औंल्याए। उनले पानी जीवनको आधार भएको उल्लेख गर्दै यसको संरक्षण नगरे दीर्घकालीन असर पर्ने चेतावनी दिए।
नेपाल सरकार संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न प्रतिबद्ध रहेको मन्त्री यादवले बताए। साथै, पानीलाई मानव अधिकारको रूपमा व्यावहारिक रूपमा कार्यान्वयन गर्न अझै धेरै सुधार आवश्यक रहेको उनले स्पष्ट पारे।
मन्त्री यादवका अनुसार दिगो खानेपानी तथा सरसफाइ प्रणाली निर्माणका लागि नीति, प्रविधि, र स्रोत साधनको प्रभावकारी परिचालन अपरिहार्य छ। सरकारले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत उनले जानकारी दिए।