एसपी रिपोर्टर
रौतहट , चैत ९ : शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीले रौतहट जिल्लाका किसानहरूलाई ठूलो क्षति पुर्याएको छ। विशेषगरी उत्तरी क्षेत्रका कृषकहरूले लगाएको मकै तथा गहुँबाली पूर्ण रूपमा नष्ट भएको छ।
चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरूको बालीनाली सखाप भएपछि उनीहरू चिन्तित छन्। वृन्दावन नगरपालिका-१ का किसान रामलोचन राउतको एक विघा १० कठ्ठा मकै तथा चन्द्रपुर-१० का किसान अवधलाल राउतको करेसाबारी र मकैबाली पूर्ण रूपमा नष्ट भएको छ।बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले समेत ठूलो क्षति व्यहोरेका छन्। वृन्दावन जल उपभोक्ता समितिका अनुसार बलेरी क्षेत्रका मात्रै करिब ५ सय विघा मकैबाली नष्ट भएको छ।किसानहरूले राहतको माग गर्दै स्थानीय तथा प्रदेश सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन्। वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले स्थानीय सरकारले पीडित किसानहरूको विवरण संकलन गरी संघ तथा प्रदेश सरकारसमक्ष राहतका लागि पहल गर्नुपर्ने बताए।
नेपालजस्तो कृषि प्रधान देशमा प्राकृतिक प्रकोपको मारमा परेका किसानहरूलाई राहत तथा क्षतिपूर्ति कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवाज उठ्न थालेको छ।