एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : जनकपुरधाममा विश्व वन दिवस को अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। डिभिजन वन कार्यालय, धनुषा को आयोजनामा शुक्रबार श्री राम जानकी सुडी कुट्टी प्राङ्गणमा विभिन्न जातका बिरुवा रोपिएको हो।
कार्यक्रममा मधेश प्रदेशका वन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका पदाधिकारीहरू ले वन, वातावरण, तथा जैविक विविधताको महत्वबारे धारणा राखेका थिए। मधेश प्रदेशसभा सदस्य अनिता कुमारी साह ले वृक्षारोपण मात्र होइन, त्यसको संरक्षण पनि उत्तिकै आवश्यक रहेको बताइन्।वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशका सचिव उद्धव बहादुर घिमिरे ले प्रदेश सरकारले वन संरक्षणका लागि विशेष योजनाहरू कार्यान्वयन गरिरहेको जानकारी दिए। उनले आगामी दिनमा बजेट व्यवस्थापनलाई समेत प्राथमिकता दिने उल्लेख गरे।डिभिजन वन कार्यालय, धनुषाका प्रमुख सरेश शर्मा ले वन, वातावरण, र जलवायु परिवर्तनको अटुट सम्बन्धबारे प्रकाश पारे।सुडी कुट्टीका अध्यक्ष राम बालक महतो ले वन विनाश र अनियन्त्रित रूख कटानका कारण तराई क्षेत्रमा सिंचाइ समस्या तथा तापमान वृद्धिको असर देखिन थालेको बताए। उनले वृक्षारोपणले मरुभूमीकरण रोक्ने, वर्षा नियमित गर्ने, तथा वातावरण सन्तुलित राख्ने विश्वास व्यक्त गरे।वृक्षारोपण कार्यक्रम अन्तर्गत असोक, शिवलिङ्ग, अमला, निम, आँप, र रुद्राक्षका बिरुवा रोपिएको छ।
संयुक्त राष्ट्रसंघको २०१२ मा बसेको बैठकमा हरेक वर्ष २१ मार्चलाई विश्व वन दिवस रूपमा मनाउने निर्णय गरिएको थियो। नेपालमा २०१३ देखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आइरहेको छ।