एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ : एसईई परीक्षा अन्तर्गत आज दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र समेत बाहिरिएको छ।
मोबाइल फोन लिएर परीक्षा हलमा प्रवेश निषेध गरिएको भए पनि प्रश्नपत्रको तस्बिर खिचेर बाहिर पठाइएको पाइएको छ। हालसम्म कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो भन्ने खुल्न सकेको छैन। यसअघि, पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र समेत आउट भएको थियो।यस वर्ष मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी परीक्षामा सहभागी छन्। शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार प्रदेशभर १ हजार २३१ विद्यालयका विद्यार्थीहरूले ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेका छन्।शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालका अनुसार धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। धनुषाका १९५ विद्यालयका १३ हजार ६५४ जना विद्यार्थी परीक्षामा बसेका छन्। सप्तरीबाट भने सबैभन्दा कम १४२ विद्यालयका ८ हजार ७१५ जना विद्यार्थी सहभागी छन्।चैत ७ गतेदेखि १९ गतेसम्म चल्ने परीक्षाका लागि ४ हजार ६८० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, परीक्षाका लागि १२ हजार २४२ जना कर्मचारी खटाइएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।