एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ : सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ। उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजनासम्बन्धी विवाद उठेपछि गृहमन्त्री रमेश लेखकले स्वतन्त्र छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन्। महायज्ञ आयोजना गर्नका लागि दलित परिवारको घर भत्काइएको विषयमा व्यापक आलोचना भएपछि सत्यतथ्य पत्ता लगाउन दाहाललाई मन्त्रालय तानिएको हो।उक्त घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादव संलग्न भएको आरोप छ। समाचार अनुसार, महायज्ञका लागि आएका बाबाको निर्देशनमा जेसीबी प्रयोग गरी दिपक मरिक (डोम) को घर भत्काइएको थियो।बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू वर्षौंदेखि बस्दै आएको घर भत्काएर जबरजस्ती अन्यत्र सर्न बाध्य पारिएको बताएकी छन्। अहिले सो स्थानमा महायज्ञको तयारी भइरहेको छ।
यो समाचार सार्वजनिक भएपछि पीडित परिवारलाई गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमतका नेता दिलिप यादवका समर्थकहरूले धम्की दिन थालेको समेत पाइएको छ।