एसपी रिपोर्टर
जनकपुरधाम , चैत ७ : राजर्षि जनक विश्वविद्यालयमा समावेशी नीतिको उल्लंघनको विरोधमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले संयुक्त रूपमा डीन कार्यालयमा तालाबन्दी गरेका छन्।
विद्यार्थी संगठनहरूले फागुन ८ गते जारी गरिएको करार तथा दैनिक ज्यालादारी शिक्षक र कर्मचारी नियुक्तिसम्बन्धी विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण तथा समावेशी अधिकार सुनिश्चित नगरिएको आरोप लगाएका छन्।अनेरास्ववियुका इन्चार्ज रवि कुमार साह र नेविसंघका कार्यबाहक अध्यक्ष त्रिलोक कुमार यादवले उक्त विज्ञापनलाई समावेशी बनाउन तथा आरक्षणको व्यवस्था लागू गर्न माग गरेका छन्। उनीहरूका अनुसार, विश्वविद्यालयले विगतदेखि नै शिक्षक तथा कर्मचारी नियुक्तिमा समावेशीतालाई बेवास्ता गर्दै आएको छ।विद्यार्थी संगठनहरूको भनाइ छ कि नेपालको संविधानले समावेशी अधिकार सुनिश्चित गरेकाले विश्वविद्यालयले यसलाई उपेक्षा गर्न मिल्दैन। उनीहरूले विज्ञापनमा सुधार गरी समावेशी प्रतिनिधित्वको प्रत्याभूति गर्नुपर्ने, करार तथा दैनिक ज्यालादारी नियुक्ति प्रक्रियामा देखिएको विभेद हटाउनुपर्ने माग गरेका छन्।त्यसैगरी, विद्यार्थी संगठनहरूले विश्वविद्यालयको भवन निर्माण कार्य सम्पन्न गर्न, विज्ञापन प्रक्रियामा एकरुपता ल्याउन र सेवामा आयोगको पहल आवश्यक रहेको बताएका छन्।विद्यार्थीहरूले आफ्नो माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।