एसपी रिपोर्टर
काठमाणडौं , चैत ७ : रेल विभागले अधिग्रहण गरेको जग्गाको मुआब्जा विवाद समाधान गर्न अग्रसरता नदेखाएको भन्दै महोत्तरीको बर्दिवासका किसानहरूले बिहीबार काठमाडौंस्थित रेल विभागको कार्यालयमा धर्ना दिएका छन्।
मुआब्जा विवादकै कारण जयनगरदेखि महोत्तरीको भंगहासम्म ब्रोडगेज रेल सेवा सञ्चालनमा आए पनि बर्दिवाससम्मको विस्तार रोकिएको छ। विवाद नटुंगिँदा बर्दिवास खण्डमा रेलको काम ठप्प भएको छ।बर्दिवासका रेलवे आयोजना पीडित संघर्ष समितिले रेल विभागलाई बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘हामीमाथि परेको अन्यायबारे पटक–पटक निवेदन र भेटघाटमार्फत अनुरोध गर्दा पनि कुनै पहल नभएपछि हामी बाध्य भएर अन्तिम चरणको धर्ना तथा रिले अनसन हुँदै आमरण अनसन बस्ने अवस्थामा पुगेका छौं।’
संघर्ष समितिका निरज अधिकारीले मुआब्जा विवाद समयमै समाधान नभए रेल आयोजनाको काममा अवरोध गर्ने चेतावनी दिएका छन्।