एसपी रिपोर्टर
जनकपुरधाम , चैत ७ : सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दीपक मरिक (डोम) को उठीबास गराइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मधेस प्रदेशसभाका सांसदहरूले माग गरेका छन्।
बिहीबार बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका सांसदहरूले घटनाको निन्दा गर्दै औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहित संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरे। सांसद निलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउनेलाई कडा कारबाही गर्नुपर्ने बताइन्।माओवादीकी सांसद माल कर्णले दोषीलाई कारबाही गर्दै पीडित परिवारको पुनर्वासको व्यवस्था गर्नुपर्ने बताइन्। जसपाकी सांसद ललिता पासवानले जातीय भेदभावलाई अन्त्य गर्न कडा कदम चाल्नुपर्नेमा जोड दिइन्।एमाले सांसद लखन दास तत्माले दशकौँदेखि बसोबास गर्दै आएका डोम परिवारलाई उठीबास गराउनु अमानवीय कार्य भएको भन्दै छुवाछुतलाई मलजल गर्ने सबैलाई कारबाही गर्न माग गरे।
आगामी चैत १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञको नाममा दीपक मरिकको घर भत्काएर अन्यत्र सारिएको छ। त्यहाँको दुई फिट माटोसमेत हटाइएको छ, जसका कारण बिजुली र खानेपानीको सुविधा पनि उपलब्ध छैन।