एसपी रिपोर्टर
काठमाणडौं , चैत ७ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विकास निर्माणका योजना तथा सरुवा–बढुवाका लागि आफूलाई फोन नगर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
मधेस प्रदेशमा योजनासम्बन्धी विवाद भइरहेकै बीच राउतले फेसबुकमार्फत स्पष्ट सन्देश दिँदै, “हजारौँ योजना छन्, कुन पत्र कहाँ छ भन्ने कुरा पार्टी अध्यक्ष वा पार्टीले हेर्ने विषय होइन” बताएका छन्।उनले जनमत पार्टीका कार्यकर्ताहरू बदनाम हुने योजनामा नफस्नुपर्ने भन्दै, यदि पार्टीको निर्देशन, एजेन्डा र भिजन अनुसार काम नहुने अवस्था आएमा सरकारबाट बाहिरिने निर्णय लिन सकिने चेतावनी दिएका छन्।
राउतले मधेस सरकार वा मन्त्रीहरूको गतिविधिका लागि पार्टी अध्यक्षलाई बारम्बार फोन नगर्न भन्दै, सम्बन्धित कामका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।