एसपी रिपोर्टर
काठमाणडौँ , चैत ७ : सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको घटनाप्रति सांसदहरूले कडा आपत्ति जनाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरे। यही चैत १७ गतेबाट सुरु हुन लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको थियो, जसका कारण पीडित परिवार अहिले विस्थापित भएको छ।स्थानीयहरूको भनाइअनुसार महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने बताएपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवको मिलोमतोमा घर भत्काइएको हो।यस घटनाप्रति नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतका सांसदहरूले आपत्ति जनाएका छन्।
सांसदहरूले दलित समुदायले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत ‘हेग’ जानुपर्ने अवस्था आएको भन्दै घटनाको भर्त्सना गरे। पीडित परिवारले घरमात्रै नभई माटोसमेत खनेर फ्याँकिएको गुनासो गरेका छन्।