एसपी रिपोर्टर
काठमाणडौँ , चैत ७ : पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ। काठमाडौँमै घर भए पनि राज्यकोषबाट घरभाडाबापत मासिक लाखौँ रुपैयाँ बुझेको आरोपसहित सिन्धुलीका युवराज सफलले बिहीबार आयोगमा उजुरी दर्ता गराएका हुन्।
उजुरीमा यादव र भण्डारीलाई भ्रष्टाचार कसुरमा पक्राउ गरी छानबिन गर्न माग गरिएको छ। अन्यथा अदालतसम्म जाने चेतावनी दिइएको छ।गृहमन्त्रालय स्रोतका अनुसार, गत आर्थिक वर्षमा यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको थियो। भण्डारीका लागि ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च भएको दाबी छ। उक्त रकम तलब, घरभाडा, सचिवालयका सदस्यको तलब, बिजुली, पानीजस्ता खर्च समावेश गरी दिइएको हो।सरकारले पूर्वराष्ट्रपतिहरूलाई एक जना उपसचिव, सवारी चालक, र कार्यालय सहयोगीसमेत उपलब्ध गराएको छ। साथै, यादवलाई मासिक १ लाख ९२ हजार २५५ रुपैयाँ र भण्डारीलाई मासिक १ लाख रुपैयाँ घरभाडा दिइँदै आएको छ।
यादव आफ्नै घर छाडेर भाडामा बस्दै आएका छन् भने भण्डारी आफ्नै घरमा बसेर पनि घरभाडा सुविधा लिएको आरोप छ।त्यस्तै, पूर्वराष्ट्रपतिहरूका लागि मासिक २०० लिटरका दरले इन्धन खर्चसमेत राज्यले बेहोर्दै आएको छ। यादवका लागि २०७३ माघ २० र २०७४ मंसिर २५ को मन्त्रिपरिषद् निर्णयअनुसार सुविधा उपलब्ध गराइएको हो भने भण्डारीका लागि २०८० भदौ २९ गते निर्णय भएको हो।यस्तै, चार जना पूर्वसभामुखहरूले पनि सरकारी सुविधा लिइरहेका छन्। तारानाथ रानाभाट, कृष्णबहादुर महरा, र ओनसरी घर्तीले मासिक १०० लिटर पेट्रोलसहित गाडी सुविधा पाएका छन्। अग्नि सापकोटाले चीन सरकारले उपहारस्वरूप संसद् सचिवालयलाई दिएको विद्युतीय गाडी प्रयोग गरिरहेका छन्।सत्ता र शक्तिको पहुँचमा रहेका विभिन्न व्यक्तिहरूका लागि मन्त्रिपरिषद्को स्वीकृति बिना नै ३,६०० सुरक्षाकर्मी परिचालन गरिएको स्रोतले जनाएको छ। तीमध्ये धेरै जना पिएसओ र घरेलु कामदारका रूपमा कार्यरत छन्।
सरकारले पूर्वप्रधानन्यायाधीशहरू, पूर्वराजपरिवारका सदस्यहरूलाई पनि सुविधा दिँदै आएको छ। तर, यस्ता सुविधाका लागि कानुनी प्रावधान छैन। सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूका लागि कानुन निर्माण गर्ने तयारी गरिरहेको छ।