एसपी रिपोर्टर
काठमाणडौँ , चैत ७ : जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टाभित्रै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ।
प्रश्नपत्र जनकपुरको कुनै परीक्षा केन्द्रबाट आउट भएको आशंका गरिएको छ। यद्यपि, कुन केन्द्रबाट लीक भयो भन्ने विषयमा स्पष्ट हुन बाँकी छ। केन्द्राध्यक्षले नै प्रश्नपत्र बाहिरिएको हुन सक्ने अनुमान गरिएको छ भने यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले जानकारी दिए।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने प्रश्नपत्र आउट भएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले परीक्षा अनुगमन समितिका पदाधिकारीहरूसँग विभिन्न परीक्षा केन्द्रहरूमा निरीक्षण गर्दा मर्यादित रूपमा परीक्षा सञ्चालन भइरहेको पाइएको उल्लेख गरे।
मधेश प्रदेशमा धनुषा जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सहभागी छन्। धनुषाका १९५ भन्दा बढी विद्यालयका १३,६५४ विद्यार्थी परीक्षामा सामेल भएका छन्।
आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ। परीक्षा शान्तिपूर्ण रूपमा अघि बढिरहेको बताइए पनि प्रश्नपत्र लीक प्रकरणले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ।