एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह र जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वादविवादमा उत्रेका छन् । दुवैजना आ आफनै हठ र नियम कानुन लत्याउँदा विवादमा फँसेका छन् ।
स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक समेत रहेका मनोज कुमार साहलाई भने वडा सदस्यहरुको साथ छ । वरिष्ठ उपाध्यक्ष साहले बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार किल्ला सिफारिस दिन नमानेको आरोप लगाए भने त्यस अघि वडाध्यक्ष साहले पनि एक पत्रकार सम्मेलन गरी महेन्द्र मेडिकलको नवनिर्मित भवनलाई मापदण्ड बिपरीत रहेको आरोप लगाउँदै मुद्दाको निक्र्यौल नभएसम्म चारकिल्ला सिफारिस नदिएको बताए ।
वडाध्यक्ष साहले भने अनुसार आफूले चापाकल नगडाई दिएको कारण त्यसको रिसइवी जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समेत आफूविरुद्ध सामाजिक सञ्जालमा समेत अनाप सनाप लेखेको, उपमहानगरपालिकामा मापदण्ड विपरित भवन निर्माण गरेको भनी उजुरी दिनुका साथै अहिले आएर चार किल्ला सिफारिस दिन नमानेको उनले गुनासो गरे ।
घटना बारे सुनाउंदै उनले भने आफूले घर निर्माण गर्दा उपमहानगरको मापदण्ड अनुसार छोडिएको सेटब्याकमा घर चढन सिढी निर्माण मात्र गरेको हो । त्यसका लागि आफूले विगतमा ३ हजार रुपैया जरिवाना समेत तिरिसकेको उनले बताए ।
वडाध्यक्ष साहले उपमहानगरपालिकाले मापदण्ड बिपरीत निर्माण कार्यको छानबिन गर्न समिति बनाएको उल्लेख गरे । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे । महेन्द्र मेडिकल प्रालिको नाममा दर्ता रहेको वडा नम्बर–३ स्थित सिट नम्बर १३९५–०५ र १३५५–२५ को कित्ता नम्बर ६६ र २२६ को ०–०–०–२.५ र ०–०–१०३ जग्गा २०८० चैत ७ गते नक्सा पास गरेविपरीत घर निर्माण र सेट ब्याक ५ फिट नछाडेर निर्माण गरेकोमा विवाद रहेको छ ।
वरिष्ठ उपाध्यक्ष साहले आफु विरुद्ध वडाध्यक्ष साहले उपमहानगरपालिकामा उजुरी दिंदा पुनः ५ हजार रुपैया जरिवाना तिरेर आफ्नो भवन सदर गराएको भन्दै उपमहानगरपालिकाले सदर गरिसकेको काममा वडाले विवाद गर्नुको कुनै औचित्य नरहेको तर्क गरे । पत्रकारहरुको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष साहले भने उपमहानगरको आदेशमा पनि वडाध्यक्षलाई आपति छ भने चार किल्ला सिफारिससँग कुनै सरोकारै छैन । यदि उहाँलाई आपति छ भने भोलीका दिन उपमहानगरपालिका कार्यपालिका बोर्ड वा अन्य कुनै न्यायपालिकाले दिने दण्ड सजाय भोग्न तयार छु । तर अहिले चारकिल्ला सिफारिस रोक्नु भनेको पदीय मनपर्दी गर्नु बाहेक केही होइन ।
वडा अध्यक्ष साहले आफ्नै वडा नम्बर–२ मा मापदण्ड बिपरीत घर निर्माण गरेको र नक्सा पास समेत नरहेकोले खुलासा गर्दै वरिष्ठ उपाध्यक्ष साहले भोलिका दिनमा आफनो घर अगाडिको उक्त सडक ४ मिटर बनाउने तयारी गर्दा आवश्यकता परेको खण्डमा सेड ब्याकलाई तोड्न आफु तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि वडाध्यक्ष साहले व्यक्तिगत रिसइवी साद्दन पदीय आडमा मनपर्दी गर्न खोजेको आरोप लगाए । उनले भने वरिष्ठ उपाध्यक्ष साहले गरेको गल्तीको पटक पटक जरिवाना तिरिसकेकाले चारकिल्ला सिफारिससँग कुनै सरोकार नरहेको अवस्थामा बखेडा झिकिएको छ ।
एक पक्षले गल्ती गरेर जरिवाना पनि तिरिसकेको देखिन्छ भने अर्कोपक्षले अडान लिनै नहुने काममा अड्डी कस्दा विवादित बनेर आरोप प्रत्यारोपमा उत्रेको देखिन्छ ।