एसपी रिपोर्टर
काठमाणडौँ, चैत ६ : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान संविधान असफल भइसकेको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा बसेको आजपाको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार जनताको चाहना पूरा गर्न असमर्थ भएको बताए। “सरकार सबै मोर्चामा असफल भइसकेको छ। प्रधानमन्त्री ओलीसहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्याङ्कनमा असफल देखिएका छन्। जनताको आवश्यकता सम्बोधन गर्न नसकेको यो सरकारले अब टिक्न सक्दैन,” साहले भने।उनले नागरिक सर्वोच्चतासहितको व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउन सबैलाई एकजुट हुन आग्रह गरे। आउँदो चैत २४ गते आजपाले काठमाडौंमा खबरदारी सभा र विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।
साहले वर्तमान संविधानकै कारण देश संकटमा फसेको बताउँदै व्यवस्थाको खारेजी आवश्यक रहेको उल्लेख गरे। नेताहरूको गलत क्रियाकलापका कारण गणतन्त्र बदनाम भएको र दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प नरहेको उनको भनाइ छ।