एसपी रिपोर्टर
काठमाणडौँ, चैत ६ : सरकारले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा दिने निर्णय गरेको हो।
यसैगरी, बैठकले नेपालको संविधानको धारा ५३ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले विश्व बैंकमार्फत प्राप्त विद्यालय क्षेत्र सुधार कार्यक्रमको अनुदान सहायता सम्बन्धी वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।त्यसैगरी, ऋण असुली न्यायाधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट (बैतडी) नियुक्त भएका छन्।सरकारले प्रहरी चौकी भकुण्डेबेसी (काभ्रेपलाञ्चोक, साविक मेथिनकोट गा.वि.स. वडा नं. ६) र प्रहरी चौकी पोखरी नारायणस्थान (साविक पोखरी नारायणस्थान गा.वि.स. वडा नं. ३) को भवन निर्माणका लागि क्रमशः ६-६ रोपनी सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
यसैगरी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा यदुनाथ पौडेल (अर्घाखाँची) नियुक्त हुनेछन् भने शिक्षक सेवा आयोगको सदस्य पदमा पवित्रा सुवेदी (सुर्खेत) र रामशरण सापकोटा (मकवानपुर) नियुक्त गर्ने निर्णय गरिएको छ।