एसपी रिपोर्टर
काठमाणडौँ , चैत ६ : स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा सुन र अवैध मुद्रा तस्करीमा केवल भरियामात्र समातिने र तस्करीका मालिक भने छुट्ने गरेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको विदेशी मुद्रा सहित एक व्यक्ति समातिए पनि मालिक भने कहिल्यै नसमातिने विडम्बना रहेको बताए। “नेपालमा जहिल्यै भरिया मात्रै समातिन्छन्, मालिक किन समातिँदैन?” भन्दै उनले गृहमन्त्रीलाई तस्करीका मुख्य योजनाकार पक्राउ गर्न चुनौती दिए।सांसद सिंहले यसअघि भएका सुन तस्करी काण्डका प्रतिवेदनहरू सदनमा टेबुल गर्न माग गरे। उनले सरकारले विभिन्न काण्डको प्रतिवेदन सार्वजनिक गर्न नसकेको गुनासो गर्दै गृहमन्त्री रमेश लेखकलाई पार्टी बैठकमा मात्र नभई संसदमा ब्रिफिङ गर्नुपर्ने सुझाव दिए।सिंहले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा जुलुस निस्किएको र धनुषास्थित यादव चोकमा गोली चलेको घटनालाई अशान्तिको संकेत भन्दै सरकारसँग स्पष्टीकरण माग गरे।
“के देशमा अशान्ति भएको हो?” भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा जवाफ दिन आग्रह गरे। साथै, देशको सुरक्षा अवस्था कमजोर बन्दै गएको र वैदेशिक सम्बन्ध पनि बिग्रँदै गएको टिप्पणी गरे।