एसपी रिपोर्टर
काठमाणडौँ , चैत ६ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरूलाई आफ्नै प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना आवश्यक भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि त्यसको जग बलियो बनाउन प्रदेशहरूलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गरे।निधिले संविधानसभाले संविधान बनाए पनि त्यसलाई आवश्यकतानुसार संशोधन गर्दै अगाडि बढ्नुपर्ने बताए। “सातवटै प्रदेशसँग आफ्नै प्रहरी सङ्गठन र कर्मचारी संरचना नभए सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन हुँदैन,” उनले भने, “सबै प्रदेशलाई आफ्नो प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना बनाउने अधिकार दिनुपर्छ।”
उनले सङ्घीय प्रणालीलाई पूर्णरूपमा कार्यान्वयन गर्न संविधान जारी भइसकेपछि थप गर्नुपर्ने सुधारका लागि स्पष्ट कार्यसूची बनाएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए।