एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कच्चा तेल बोकेको ‘ट्यांक कन्टेनर’ आइपुगेको छ। बारा जितपुरस्थित शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन कच्चा तेल बोकेको कन्टेनर रेलमार्फत नेपाल भित्रिएको हो।
सडक मार्गको तुलनामा रेल ढुवानीबाट करिब १५% ढुवानी खर्च बचत हुने बताइएको छ। ट्यांक कन्टेनर पूर्णरूपमा शिल भएकाले तेल चोरीको जोखिम नहुने र पर्याप्त ट्यांकर अभावको समस्या समाधान हुने जनाइएको छ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार ट्यांक कन्टेनर सेवा सुरु भएसँगै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने र नेपालको अन्तर्राष्ट्रिय व्यापार अझ सहज हुने अपेक्षा गरिएको छ।