एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनका विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गर्दै युक्रेनी सेनाद्वारा युद्धबन्दीका रूपमा नियन्त्रणमा रहेका सात नेपालीको रिहाइका लागि आग्रह गरेकी छन्।
भारतको राजधानी नयाँ दिल्लीमा जारी ‘राइसिना संवाद’मा सहभागिता जनाउने क्रममा उनले सिबिहासँग छुट्टै भेट गरेकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी दिँदै भनिन्, “उनीहरूको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेकी छु। साथै, नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरूबारे छलफल भएको छ।”
यसै अवसरमा नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल, र सेवा राहदानी वाहकहरूका लागि भिसा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको पनि मन्त्री देउवाले जनाएकी छन्।