एसपी रिपोर्टर
विराटनगर, चैत ५ : मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन्, भने एक बालिकाको जलेको अवस्थामा शव फेला परेको छ।
धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो लागेको आगोमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयबासीलाई उद्धृत गर्दै प्रहरीले प्रारम्भिक रूपमा जानकारी दिएको थियो। तर, आगलागीमा परेको भनिएका अर्का बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले पुष्टि गरे।आगोले अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको ज्यान लिएको छ, भने ६ वर्षीय अर्शद अली सकुशल फेला परेका छन्। अर्शद अनितका नै छोरा हुन्।घटनास्थलबाट फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकैको बारीमा फेला परेका हुन् र उनको अवस्था सामान्य छ।
प्रहरीका अनुसार आगलागीमा परी ९ वटा घर जलेका छन्। डिएसपी जोशीका अनुसार आगो लगभग नियन्त्रणमा आइसकेको छ।