एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : नेकपा (माओवादी केन्द्र) को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चैत ७ गतेबाट पुनः सुरू हुने भएको छ।
फागुन १२ गते झापाबाट सुरू भएको अभियान राजावादी शक्तिहरूले व्यवस्थाविरोधी गतिविधि तीव्र बनाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो। मधेस प्रदेशअन्तर्गत बारा र पर्साका कार्यक्रम बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ।अभियानलाई अघि बढाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू बुधबार (चैत ६) बाराको सिमरा विमानस्थल ओर्लिने छन्। उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवका अनुसार मधेसको कार्यक्रम सकिएपछि चैत ९ गते चितवनको अभियानमा सहभागी हुने तय भएको छ। केन्द्रीय नेताहरू सिम्रौनगढमा बास बस्नेछन्।चितवनको कार्यक्रम सकिएपछि नेताहरू पुनः काठमाडौं फर्किनेछन्। यादवका अनुसार अबको अभियान निरन्तर सञ्चालन गर्नेभन्दा बिच-बिचमा ब्रेक राखेर अघि बढाइने छ। उनले पार्टीले अभियान स्थगित हुँदा बाहिर गलत सन्देश गएकोबारे समीक्षा गरिसकेको जानकारी दिए।”केन्द्रीय नेतृत्व जिल्लाको अभियानमा केन्द्रित हुँदा काठमाडौंको राजनीतिमा सक्रिय भूमिका खेल्न गाह्रो पर्ने रहेछ। त्यसैले अब पहिलेजस्तो निरन्तर अभियान हुँदैन, बिच-बिचमा ब्रेक गरेर सञ्चालन गर्ने योजना बनाएका छौं,” यादवले भने।यसअघि पूर्वनिर्धारित कार्यक्रमअनुसार बारा (फागुन २५), पर्सा (फागुन ২৬), चितवन (फागुन २७), नवलपरासी पूर्व (चैत २), नवलपरासी पश्चिम (चैत ३), रुपन्देही (चैत ४), कपिलवस्तु (चैत ५), दाङ (चैत ६), बाँके (चैत ७) र बर्दिया (चैत ८) मा अभियान सञ्चालन गर्ने योजना थियो।
अभियान चैत ११ गते कैलाली र चैत १२ गते कञ्चनपुरमा सम्पन्न हुने तय गरिएको थियो।