एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।दर्ज्यानी चिह्न ग्रहण गर्दै आईजीपी थापाले समाजमा देखिने विभिन्न सकारात्मक र नकारात्मक पक्षहरूको प्रतिबिम्ब नेपाल प्रहरीमा पनि रहेको उल्लेख गर्दै आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले प्रहरी सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक कार्य गर्दै आएको भन्दै संगठनको नेतृत्वमा रहेर पनि इमानदारिताका साथ काम गर्ने प्रतिज्ञा गरे। साथै, प्रहरी संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही नभई समन्वयात्मक भूमिकामा लाग्ने बताए।गृहसचिव दुवाडीले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै मुलुकमा बढ्दै गएको अपराध नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे। साथै, शान्ति सुरक्षाको प्रत्याभूति गर्न मन्त्रालयको तर्फबाट निरन्तर सहयोग रहने आश्वासन दिए।
आईजीपी थापाले २०५२ साल भदौ १९ गते नेपाल प्रहरीमा निरीक्षकका रूपमा आफ्नो सेवा यात्रा सुरु गरेका थिए।