एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
धनुषाको सबैला नगरपालिका–९, भठिहनमा चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका युवकलाई काठमाडौँ रेफर गरिएको छ।
शहीदनगर–१, कुम्भकर्णका संतोष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको हो।
सबैलाको भठिहनस्थित चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्दा आइतबारदेखि दुई पक्षबीच विवाद चर्किएको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको र प्रहरीले गोली चलाएको थियो।