एसपी रिपोर्टर
काठमाणडौं,चैत ४ : संघ सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग अनिवार्य गराउने निर्देशिका कार्यान्वयनका लागि देशभरका स्थानीय तहमा पत्राचार गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको निर्देशिका लागू गर्न ५ फागुनमा बसेको सचिव बैठकले निर्णय गरेको थियो। सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पत्र पठाएको हो।गत पुस महिनाको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका २०८१’ स्वीकृत गरेको थियो। निर्देशिकाले स्वदेशी वस्तुको प्रयोग बढाउने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने र उत्पादन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।यसअघि निजी क्षेत्रले समेत निर्देशिकाको स्वागत गर्दै स्वदेशी वस्तुको प्रयोग बढाउने प्रतिबद्धता जनाएको थियो। निर्देशिका अनुसार सार्वजनिक निकायका कर्मचारीले स्वदेशी पोसाक लगाउनुपर्नेछ, गोष्ठी तथा सेमिनारमा पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्नेछ।
स्वदेशी वस्तुको सूचीमा स्टेसनरी, कार्यालय सामग्री, छपाइ सामग्री, पोसाक, कोसेली, उपहार, फर्निचर, सरसफाइ सामग्री, फ्लोरिकल्चर, निर्माण सामग्री, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ आदि रहेका छन्।