एसपी रिपोर्टर
जनकपुरधाम,चैत ४ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियामा मधेश प्रदेश सरकार सहभागी नहुने चेतावनी दिएको छ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नगरिए प्रदेश सरकारले एसईई परीक्षा सञ्चालन प्रक्रियामा असहयोग गर्ने स्थिति आउन सक्ने मुख्यमन्त्री सतिशकुमार सिंह ले चेतावनी दिएका हुन्।मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिल कर्णले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका छन्। मुख्यमन्त्री सिंहले प्रदेशको शैक्षिक सुधारका लागि परीक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाएको थियो। तर, विभिन्न जिल्लामा पूर्ववत् अभ्यासअनुसार सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढेपछि मुख्यमन्त्री असन्तुष्ट बनेका छन्।विज्ञप्तिमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिवसमेत रहेका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरूको यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दूराग्रही व्यवहारले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।
प्रदेश सरकारले एसईई परीक्षा प्रक्रियामा असहयोग गर्ने चेतावनीसँगै यस विषयमा थप निर्णयका लागि सरोकारवाला निकायहरूसँग परामर्श गर्ने तयारी गरेको छ।