एसपी रिपोर्टर
महोत्तरी,चैत ४ : महोत्तरीको पडौल बजारमा शनिबार राति भएको चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन्।
बलवा नगरपालिका–३ स्थित पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्स को ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएपछि व्यापारीहरुले टायर बालेर प्रदर्शन गरेका हुन्। सीसीटीभी फुटेजअनुसार जीप चढेर आएका पाँच जनाको समूहले पसल लुटपाट गरी बर्दिबासतर्फ भागेको देखिएको छ।शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार चोरहरूले पसलबाट करिब २० तोला सुन, १ लाख ५० हजार नगद, भोल्ट (लकर) तथा सीसीटीभी क्यामेराको हार्डडिस्क समेत चोरी गरेका छन्।सुन पसलमा रहेको सीसीटीभीको हार्डडिस्क समेत चोरी भएपछि नजिकै रहेको अन्य क्यामेरामा चोरीमा प्रयोग भएको जीप र संलग्न व्यक्तिहरूको फुटेज कैद भएको बताइएको छ।चोरी भएको घटना आइतबार बिहान ९ बजेमात्रै थाहा पाएपछि स्थानीय व्यापारीहरु आक्रोशित भएका छन्। बजारका अन्य स्थानमा रहेका सीसीटीभी क्यामेरा सञ्चालनमा नरहेको भन्दै उनीहरूले प्रशासनविरुद्ध नाराबाजी गर्दै बजार बन्द गराएका छन्।
प्रशासनले घटनाको छानबिन गरिरहेको जनाएको छ।