एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : हरेक वर्ष होली होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषदले प्रदान गर्ने महामुर्खको उपाधि यसवर्ष मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदान गरिएको छ । जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बिच मुख्यमन्त्री सिंहलाई महामुर्ख २०८१ घोषणा गरिएको छ ।
मिथिला नाट्य कला परिषद् आज जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । उनलाई विशेष प्रकारको व्यङ्गात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले सम्मान गरेका छन् ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिनुभयो ।
यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ ।

महामूर्ख सम्मेलनमा मधेश प्रदेश सरकारका निमित्त स्वास्थ्य सचिव राजेश कुमार मिश्रलाई बालबोध, वीरगञ्ज महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, प्रसिद्ध चिकित्सक डा. रामविनय चौधरीलाई खवसुरताको उपाधिले सम्मानित गरिएको छ ।
यसै गरि चित्रकार सीतादेवी कर्णलाई मनपसारन, प्रसिद्ध पशु चिकित्सक एवं प्राध्यापक डा. पिंकी मण्डललाई मनतोरिया, महोत्तरीका प्रसिद्ध प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई सोखानन्द, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारीलालको उपाधिले सम्मानित गरिएको छ ।
महामूर्ख सम्मेलनमा जनकपुर वार एशोसिएशनका अध्यक्ष विमल मिश्रलाई पवित्र पापी, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहलाई डपोरशंख र फिल्म फेष्टिवल गरेर विश्वका ६० देशका फिल्म प्रदर्शन गरेका कुमार भाष्करलाई तरघुस्काको उपाधिले सम्मानित गरिएको छ । महामूर्खको उपाधि ग्रहण गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्मानबाट थप हौसला मिलेको बताए । उनले मिनापले अस्पतालको वेथिति सन्दर्भमा प्रस्तुत गरेको नाटक ढौवा अस्पतालको प्रशंसा गर्दै सुधारमा सहयोग गर्न आग्रह गरेका छन् ।

महामूर्ख सम्मेलनको शुरुवात ०६१ सालमा भएको थियो । यसअघि पनि विभिन्न चर्चित व्यक्तिहरूलाई ’महामूर्ख’ उपाधि प्रदान गरिएको छ । ०६१ सालमा मैथिली कवि नरेश ठाकुर, ०६२ मा नेकपा एमालेका नेता शीतल झा, ०६३ मा जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा सद्भावना पार्टीका नेता ओमकुमार झा लगायतलाई महामूर्ख उपाधि दिइएको थियो ।
त्यसैगरी, यस कार्यक्रमको अन्तर्गत ०६५ मा साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, ०६७ मा राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव र ०७० मा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई पनि महामूर्ख उपाधि दिइएको थियो ।
०७१ सालमा शत्रुधन महतो, ०७२ मा पवन सिंघानिया, ०७३ मा सप्तरीको मलेठमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको घटनापछि मिनापले कार्यक्रम स्थगित गरेको थियो । ०७४ देखि २०८० सालसम्म विभिन्न प्रमुख र चर्चित व्यक्तिहरूलाई महामूर्खको उपाधि प्रदान गरिएको छ । जसमा पूर्वराष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल, जनकपुरधामका मेयर लालकिशोर साह, पूर्वमुख्यमन्त्री लालबाबु राउत, महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका व्यक्तित्वलाई समावेश गरिएको थियो ।