एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ : बुधवार विहान धनुषाको जटही नाकामा एकाएक मृत्यु भएको युवक भारतको सुरतमा मजदुरी गर्दै आएका थिए । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुर घर भएका करिव ३० वर्षिय यादव थरका मृतक ति युवा सहित करिव पाँचसय नेपालीलाई आज विहान करीब ३ बजे तिर भारतिय प्रशासनले जटही बोर्डरमा ल्याएर छाडेर गए ।
भोक प्यासले व्याकुल र विरामी जस्तै अवस्थामा रहेको उनको अवस्था गम्भिर देखेपछि नेपाली सुरक्षाकर्मीले चाउचाउ चुरा र पानी खुवाएका थिए । जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार बिहान तिनीहरुलाई नेपाली सुरक्षार्कीले जटही नजिकै रहेको क्वारेन्टाईन स्टेशनमा बस्न आग्रह गरेका हुन ।
घटनाबारे मृतक परिवारलाई जानकारी पठाइ सकिएको छ भने शव पोष्टमार्टमाका लागि शव जनकपुरधाम प्रादेशिक अस्पतालमा पुरयाइने तयारी छ । पोष्टमार्टम पश्चात उनको कोरोना परिक्षण गरिनेछ । कोरोना परिक्षण पश्चात निगेटिभ रिपोर्ट निगेटिभ आए परिवारको जिम्मा लगाइने छ, यदि पोजेटिभ आउंछ भने नेपाल सरकारको कोरोना संक्रमित मापदण्ड अनुसार अन्तिम संस्कार गरिने सहायक प्रजिअ पोखरेलले जानकारी दिएका छन ।
मृत्युको घटनाले नाकामा भारतबाट आएकाहरुको भीड आक्रोशित भयो र प्रधानमन्त्री केपि शर्मा ओली विरुद्व नाराजाजी गर्दै प्रहरीको समेत अवज्ञा गरि जनकपुरधाम तर्फ आउन थाले । धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार उनीहरुलाई देवपुरा र गांगुलीको बिचमा रोकेर पाँचवटा बस परिचालन गरि उनीहरुको आ–आफनो स्थानिय तह स्थित क्वारेन्टाइनमा पुरयाइने काम भइरहेको छ ।