एसपी रिपोर्टर
बारा,२८ फागुन : बाराको नवजन्म पुनःस्थापना केन्द्रमा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र (प्रदीप्रसाद) मण्डल प्रकरणमा केन्द्रका सञ्चालक धरौटीमा रिहा भएका छन् भने अन्य ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत बाराले सञ्चालक तमन्ना मंसुरलाई २ लाख ५० हजार धरौटीमा रिहा गरेको छ, जबकि उनका दाजु साहेबबाबु मंसुर फरार छन्। अन्य ६ जनामाथि २० वर्षसम्म कैद सजायको माग गरिएको छ।मण्डललाई सुधार केन्द्रमा शारीरिक सजाय दिन खोज्दा कुटपिट भएपछि उनको मृत्यु भएको थियो। घटना सार्वजनिक भएपछि संसद्मा यसबारे आवाज उठेको थियो।
सरकारको निर्देशनपछि सुधार केन्द्रहरूको अनुगमन कडाइ गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लाका ८ सुधार केन्द्रमध्ये ७ वटा मात्र शाखाका रूपमा सञ्चालन भएका छन्, जसमा मापदण्ड पूरा नगर्ने समस्या रहेको पाइएको छ।