एसपी रिपोर्टर
जनकपुरधाम ,२८ फागुन : सर्लाही सदरमुकाम मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानता कुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी रहेका छन्।सर्लाही प्रहरीले दिएको जानकारीअनुसार मलंगवा नगरपालिका–८ स्थित गोरखकाली नाकाबाट उनीहरूलाई एक लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो।प्रहरीका अनुसार बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गर्ने क्रममा ठूलो परिमाणमा नक्कली नोट फेला परेको हो।प्रहरीले एक हजार दरका ८८ बन्डल नक्कली नोट बरामद गरेको छ। ती बन्डलमा तलमाथि मात्र नक्कली नोट राखी बीचमा सेतो कागज राखिएको पाइएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।