एसपी रिपोर्टर
ढल्केबर, फागुन २५ : धनुषाको सबैला नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमाका भक्तजनलाई स्वागत गर्न आइतबार एक दिने स्थानीय बिदा दिएको छ। परिक्रमा अन्तर्गत १०औं दिनमा यात्रीहरू सबैला नगरपालिकाको सतोषरधाममा विश्राम गर्ने भएकाले बिदा घोषणा गरिएको हो।
नगर प्रमुख कारीराम यादवका अनुसार फागुन शुक्ल दशमीका दिन पौराणिक परम्पराअनुसार यात्रीहरू सतोषरधाममा विश्राम गर्ने भएकाले बिदा दिइएको हो। साथै, हजारौं साधुसन्तको उपस्थिति रहने भएकाले मेला क्षेत्र र परिक्रमा मार्गमा मदिरा निषेध गरिएको जानकारी दिएका छन्।मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुन १५ गते धनुषाको कचुरीबाट सुरु भएको थियो। परिक्रमाका यात्रीहरूले हनुमानगढी, फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वत्ता, धनुषाधाम हुँदै सतोषरसम्म यात्रा तय गरिसकेका छन्।
अब परिक्रमा औरही करुणा, बिसौल हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्केर पाँचकोसे अन्तरगृह परिक्रमा गरी समापन गरिनेछ।